
दैलेख, साउन ६ — दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ खाडामा सर्पदंशको आशङ्कामा एकै परिवारका आमा–छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा २७ वर्षीया कमला रावल र उनका ९ वर्षीय छोरा आयुश रावल रहेका छन्। प्रहरीका अनुसार साउन ३ गते राति आमा–छोरा घरको माथिल्लो तलाको कोठामा भुइँमा ओछ्यान लगाएर सुतेका थिए। भोलिपल्ट बिहान उठ्दा दुवै जनामा टाउको रिङ्गिने तथा शरीर झम्झमाउने जस्ता समस्या देखिएपछि उपचारका लागि लगिएको थियो। उपचारका क्रममा ९ वर्षीय आयुश रावलको स्थानीय शाही मेडिकल साङ्गेतारा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। गम्भीर अवस्थामा रहेकी कमला रावललाई जिल्ला अस्पताल दैलेखमा प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेत रिफर गरिएको थियो। भेन्टिलेटरमा उपचार भइरहेकै अवस्थामा साउन ६ गते बिहान ६:२५ बजे उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी जम्बुकाध र पालतडाबाट प्रहरी टोली खटिएको थियो। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज पौडेलको नेतृत्वमा पाँच सदस्यीय टोली परिचालन गरिएको छ। प्रहरीले दुवैमा सर्पदंश भएको आशङ्का गर्दै घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकामा भिरबाट खसेको ढुङ्गा अटोमा लाग्दा एक जना युवक गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार साेमबार दिउँसो करिब १ बजे गुर्भाकोट नगरपालिका–११ स्थित भित्रीखोला–मेहेलकुना सडकखण्डमा भित्रीखोलाबाट मेहेलकुनातर्फ आउँदै गरेको भे २ ह १०७६ नम्बरको अटो माथि भिरबाट अचानक ढुङ्गा खसेको थियो। दुर्घटनामा अटोमा सवार सोही स्थानका २३ वर्षीय यमबहादुर खत्री गम्भीर घाइते भएका छन्। स्थानीय ३७ वर्षीय नोखबहादुर खत्रीले चलाएको अटोमा यात्रा गरिरहेका यमबहादुरको पेट र छातीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घटनालगत्तै उनलाई उपचारका लागि मेहेलकुना अस्पताल पुर्याइएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि दिउँसो करिब २ बजे नेपालगञ्ज रेफर गरिएको छ। अस्पतालमा खटिएका प्रहरी सहायक हवल्दार प्रेमबहादुर वलीका अनुसार घाइतेको अवस्था गम्भीर रहे पनि उनी सामान्य रूपमा बोल्न सक्ने अवस्थामा छन्। उपचारका क्रममा घाइतेसँग उनका छिमेकी केशर वली रहेका छन्। घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी मेहेलकुनाले अटो र चालक नोखबहादुर खत्रीलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का १४ जना महिला च्याउ टिप्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र गएको क्रममा सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजीका लागि नेपाल प्रहरी, निकुञ्ज प्रशासन र स्थानीयवासीको संयुक्त टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका–१९ को दशरथ टोल तथा बागफाँटा क्षेत्रका महिलाहरू आइतबार बिहान करिब ११ बजे च्याउ टिप्न निकुञ्जभित्र प्रवेश गरेका थिए। सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन्। प्रहरीका अनुसार उनीहरू नौ जना र पाँच जनाको दुई समूह बनाएर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्टबाट जंगलतर्फ प्रवेश गरेका थिए। साँझसम्म पनि घर नफर्किएपछि तथा सम्पर्क हुन नसकेपछि परिवारका सदस्यले प्रहरीलाई जानकारी गराएका थिए। घटनाबारे सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारी तथा स्थानीयको समन्वयमा खोजी अभियान सुरु गरिएको डीएसपी रावतले जानकारी दिए। हालसम्म उनीहरूको अवस्था खुल्न नसकेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले जंगल क्षेत्रमा प्रवेश गर्दा आवश्यक सावधानी अपनाउन, समूहबाट नछुट्टिन तथा सम्बन्धित निकायलाई जानकारी गराएर मात्र जंगलमा जान सर्वसाधारणलाई आग्रह गरेको छ।

सुर्खेत । कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बाजुराका रामबहादुर भण्डारीको शव चार दिनपछि कैलालीमा फेला परेको छ। बाजुराको त्रिवेणी नगरपालिका–३ निवासी २५ वर्षीय (सनाखत अनुसार २९ वर्षीय) रामबहादुर भण्डारी गत असार ३१ गते सुर्खेतको चौकुने गाउँपालिका–१ तालागाउँस्थित कर्णाली नदीमा साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। उनी सुर्खेतको चौकुने गाउँपालिका–१ निवासी प्रेमबहादुर साउदको लु ३ च ७६५२ नम्बरको बोलेरो गाडीका चालक थिए। प्रहरीका अनुसार असार ३१ गते दिउँसो करिब ३ बजे तीन जना साथीहरूसँग नदीमा पौडी खेल्ने क्रममा भण्डारी डुबेर बेपत्ता भएका थिए। घटनालगत्तै अस्थायी प्रहरी पोस्ट लगाम, इलाका प्रहरी कार्यालय बाबियाचौर, प्रहरी चौकी बिजौरा, तातापानी, घाटगाउँ तथा सशस्त्र प्रहरी बेस क्याम्प गुटुबाट खटिएको संयुक्त टोलीले कर्णाली नदी किनारका विभिन्न क्षेत्रमा निरन्तर खोजी अभियान सञ्चालन गरेको थियो। खोजतलासकै क्रममा साउन ३ गते दिउँसो करिब २ बजे कैलालीको टीकापुर नगरपालिका–८ स्थित श्रीलंकामा कर्णाली नदीको बीच टापुमा एक पुरुषको शव फेला परेको थियो। स्थानीयको सूचनापछि प्रहरी चौकी सत्ती र इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीको नेतृत्वमा ‘सिन अफ क्राइम’ (SOCO) टोली घटनास्थल पुगेर आवश्यक मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि टीकापुर अस्पतालको शवगृहमा राखिएको थियो। उक्त शव साउन ३ गते साँझ सम्बन्धित वडाका अध्यक्ष र मृतकका काका राजेन्द्र भण्डारीले अस्पताल पुगेर रामबहादुर भण्डारीकै भएको सनाखत गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

कैलालीको लम्की चुहा नगरपालिका–४, अमरपुरकी ६ वर्षीया मनिषा बिकको रहस्यमय निधन भएको छ। विद्यालय गएकी बालिका बेपत्ता भएको भोलिपल्ट मृत अवस्थामा फेला परेपछि स्थानीय क्षेत्र शोकमा डुबेको छ। मंगलबार बिहान घरबाट जनचेतना आधारभूत विद्यालयका लागि निस्किएकी मनिषा बिहान १० बजेपछि सम्पर्कविहीन भएकी थिइन्। विद्यालय र परिवारबाट खोजी तीव्र पारिए पनि फेला पार्न नसकिएपछि बुधबार बिहान पुनः सुरु गरिएको खोजी कार्यका क्रममा पौने ११ बजे लम्की चुहा–५ को रोरा खोला किनारमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो। घटनाको प्रारम्भिक अनुसन्धानले बालिका खोलामा बगेको हुन सक्ने अनुमान गरिए पनि प्रहरीले शव पोष्टमर्टमका लागि पठाएर थप अनुसन्धान अघि बढाएको छ। कलिलो उमेरमै बालिकाको यसरी दुःखद निधन हुनुले सिङ्गो समुदायलाई स्तब्ध बनाएको छ।

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको मन्त्रिपरिषद्बाट स्वीकृत ‘विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना बीमा कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र Rastriya Beema Company Limited बीच एक वर्षका लागि बीमा सम्झौता गरिएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर सुर्खेत र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच यसअघि २०७६ असोज १ गते भएको सम्झौताकै आधारमा नयाँ समझदारी गरिएको जनाइएको छ। २०८३ वैशाख ३० गतेदेखि लागू हुने गरी एक वर्षका लागि सम्झौता नवीकरण गरिएको हो। सम्झौतामा मुख्यमन्त्री कार्यालयका तर्फबाट उपसचिव उक्तम गौतम र राष्ट्रिय बीमा कम्पनीका तर्फबाट सह–व्यवस्थापक डम्बरदेव अधिकारीले हस्ताक्षर गरेका छन्। कार्यविधिअनुसार सञ्चालन हुने बीमा कार्यक्रममा कर्णाली प्रदेशका १६ लाख ८८ हजार ४ सय १२ जना नागरिक समेटिएका छन्। प्रतिव्यक्ति दुई लाख रुपैयाँ बराबरको बीमाङ्क कायम गरिएको छ। प्रदेश सरकारले प्रतिव्यक्ति वार्षिक ९ रुपैयाँ ३३ पैसाका दरले बीमाशुल्क तिर्नेछ। यसअनुसार कुल एक करोड ५७ लाख ५२ हजार ९ सय ४ रुपैयाँ बीमाशुल्क लाग्नेछ, जुन रकम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भुक्तानी गर्नेछ। सम्झौताअनुसार प्राकृतिक विपद्का कारण मृत्यु भएका व्यक्तिका परिवारले बीमा दाबी गर्न पाउनेछन्। बीमा दाबीका लागि घटना भएको ३५ दिनभित्र निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। तोकिएको अवधिभित्र दाबी गर्न नसके ढिलाइको कारण खुलाएर सम्बन्धित कार्यालय, जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहको सिफारिससहित १८० दिनभित्र दाबी गर्न सकिने प्रावधान राखिएको छ। बीमा सुविधा पाउन कर्णाली प्रदेशका स्थायी बासिन्दा हुनुपर्नेछ। साथै, देशको जुनसुकै स्थानमा प्राकृतिक विपद्का कारण मृत्यु भएका कर्णालीका स्थायी नागरिक पनि यस योजनाअन्तर्गत समेटिने जनाइएको छ। अन्य प्रदेशका नागरिक भए पनि कर्णाली प्रदेशभित्र सरकारी, गैरसरकारी वा अन्य क्षेत्रमा कार्यरत नेपाली नागरिकलाई समेत कार्यक्रममा समावेश गरिएको छ। बीमाले हिमपात, असिना, हिमपहिरो, हिमताल विस्फोटन, भूकम्प, बाढी, पहिरो, डुबान, हावाहुरी, आँधीबेहरी, शीतलहर, तातो हावाको लहर, चट्याङ, आगलागी, डढेलो, जंगली जनावरको आक्रमण, भिरबाट लड्ने, ढुंगा खस्ने तथा खोला वा नदीमा डुबेर वा बगेर हुने मृत्युका घटनालाई समेट्नेछ। यसअघि समावेश नभएका जंगली जनावरको आक्रमण, भिरबाट लडेर, ढुंगा खसेर तथा नदी वा खोलामा डुबेर मृत्यु हुने घटनालाई यसपटकदेखि बीमाको दायरामा ल्याइएको जनाइएको छ। बीमा दाबी प्रक्रियालाई सहज बनाउन कम्पनीले कर्णालीका सबै जिल्लामा प्रतिनिधि खटाउने व्यवस्था गर्नेछ। ती प्रतिनिधिले घटनास्थलबाट आवश्यक कागजात संकलन गर्ने जिम्मेवारी पाउनेछन्। साथै, बीमा कार्यक्रमबारे जनस्तरसम्म जानकारी पुर्याउन कम्पनीले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा प्रदेश सरकारले प्रचार–प्रसारलाई प्राथमिकता दिने जनाएको छ। सम्झौताअनुसार पूर्ण कागजात पेश भएको मितिले बढीमा १५ दिनभित्र हकवालाको बैंक खातामा सिधै बीमा रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। भुक्तानीसम्बन्धी जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउनुपर्नेछ। साथै, कम्पनीले प्रत्येक महिना बीमा दाबी तथा भुक्तानीसम्बन्धी प्रतिवेदन पेश गर्नुपर्ने प्रावधान पनि सम्झौतामा समावेश गरिएको छ।

काठमाडौँ। सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७ः३१ बजे ४.१ (स्थानीय मापन अनुसार ४.१ आसपास) रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा महसुस गरिएको भए पनि हालसम्म मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण प्राप्त भइसकेको छैन। सम्बन्धित निकायले सम्भावित क्षतिको मूल्यांकन गरिरहेको जनाएको छ। यसअघि गत माघ २८ गते लमजुङ जिल्लाको बन्सार आसपास केन्द्रविन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्रभित्र पर्ने भएकाले यहाँ साना–ठूला भूकम्पहरू समय–समयमा जाने गर्दछन्। विज्ञहरूले भूकम्पीय जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउन र सुरक्षित संरचना निर्माणमा ध्यान दिन आग्रह गर्दै आएका छन्।

दैलेख — दैलेख जिल्लाको भैरवी गाउँपालिका– ६ मा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। स्थानीय ७७ वर्षिय प्रदीप सिंहमाथि बँदेलले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकाे छ। आक्रमणमा भैरबी गाउँपालिका–६ का दीप बहादुर सिजाली र निकेश सिजाली घाइते भएका छन्। घाइते दुवैजनालाई उपचारका लागि नजिकको अस्पतालमा लगिएको छ। स्थानीयवासीहरूका अनुसार पछिल्लो समय जंगली जनावरको आतंक बढ्दै गएको छ र यसअघि पनि यस्ता घटनाहरू दोहोरिँदै आएका छन्।

जिम्बाब्वे — दक्षिणी जिम्बाब्वेको माताबेलेल्यान्ड साउथ प्रान्तमा आएको भीषण बाढीका कारण एक सवारी साधन बग्दा ९ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार फिलाबुसी क्षेत्रको मुकुला गाउँ नजिक रहेको त्शाङ्गामुटोपे नदी पार गर्ने क्रममा टोयोटा नोआ गाडी अचानक बढेको बाढीको भेलमा फसेर बगेको हो। नदीमा पानीको बहाव अत्यधिक भएकाले चालकले गाडी नियन्त्रणमा राख्न नसक्दा दुर्घटना भएको जनाइएको छ। दुर्घटनामा ७ जना वयस्क र दुई जना बालबालिकासहित ९ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि सुरु गरिएको खोज तथा उद्धार कार्यमा स्थानीय बासिन्दाले सक्रिय सहयोग गरेका थिए। लामो प्रयासपछि शुक्रबार सबै शव फेला पारिएको र मृतकहरूको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया जारी रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले नदी तथा खोलामा पानीको सतह बढेका बेला सवारी साधन प्रयोग नगर्न र जोखिमपूर्ण स्थानमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। पछिल्ला महिनाहरूमा निरन्तर परेको मुसलधारे वर्षाका कारण जिम्बाब्वेका धेरै क्षेत्र प्रभावित भएका छन्। बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिका कारण हालसम्म देशभर ७० भन्दा बढीको ज्यान गइसकेको छ भने सडक, पुल र अन्य पूर्वाधारमा व्यापक क्षति पुगेको छ। सरकारले प्रभावित क्षेत्रमा निगरानी बढाउँदै आपतकालीन तयारी तीव्र बनाएको जनाएको छ।

सिड्नी, ७ माघ — पश्चिमी अस्ट्रेलियामा फैलिएको भीषण ‘बुशफायर’ का कारण एक सहरका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आदेश दिइएको छ। आगलागीले मानव जीवन र आवासीय क्षेत्रलाई गम्भीर जोखिममा पारेपछि आपतकालीन चेतावनी जारी गरिएको हो। पश्चिमी अस्ट्रेलिया डिपार्टमेन्ट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेस (DFES) ले बुधबार जारी गरेको आपतकालीन सूचनामा पर्थबाट करिब १६० किलोमिटर दक्षिणमा रहेको कोली सहरको दक्षिणी भाग उच्च जोखिममा रहेको जनाएको छ। उक्त क्षेत्रमा रहेका बासिन्दालाई ज्यान जोगाउन तुरुन्तै स्थानान्तरण गर्न आग्रह गरिएको छ। बुधबार पहिलो पटक रिपोर्ट गरिएको आगलागी तीव्र गतिमा फैलिँदै गएको र घर तथा पूर्वाधारमा क्षति पुग्ने सम्भावना रहेको अधिकारीहरूले बताएका छन्। सुरक्षित भएमा उत्तरतर्फ सर्न तथा बाहिर निस्कन नसक्नेहरूलाई पानीको स्रोत र बाहिर निस्कने बाटो भएको कोठामा शरण लिन निर्देशन दिइएको छ। मौसम विभाग (BOM) का अनुसार पूर्वी कोली क्षेत्रमा बुधबार अधिकतम तापक्रम ३६.८ डिग्री सेल्सियस पुगेको थियो, जसले आगलागी नियन्त्रणमा थप चुनौती सिर्जना गरेको छ। सन् २०२१ को राष्ट्रिय जनगणनाअनुसार कोली सहरको जनसंख्या ८,८१२ रहेको छ। आगलागी नियन्त्रणका लागि दमकल र आपतकालीन टोलीहरू परिचालित गरिएको जनाइएको छ।

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालमा पहिरोमा परेर बेपत्ता भएका दुई बसमध्ये एकको अवशेष त्रिशूली नदीको किनारमा फेला परेको छ। प्रहरीका अनुसार बसका अवशेष बालुवाले पुरिएको अवस्थामा भेटिएको हो। दुर्घटनास्थलबाट करिब ३०० मिटर तल अवशेष देखेपछि स्थानीय रोशन भुजेलले तीन दिनअघि प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि सुरक्षाकर्मीको टोलीले उक्त स्थानमा पुगेर अवशेष पुष्टि गरेको हो। २०८१ साल असार २८ गते बिहान करिब ३ बजे सिमलतालमा पहिरो खस्दा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेका दुई वटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए। ती बसमा चालक तथा सहचालकसहित ६२ जना यात्रु सवार थिए। दुर्घटनामा तीन जना मात्र ज्यान जोगाउन सफल भएका थिए। घटनापछि खोज तथा उद्धारका क्रममा हालसम्म २४ जनाको शव फेला परेको छ, जसमध्ये १९ जनाको मात्र सनाखत हुन सकेको छ। बाँकी ३५ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। प्रहरी र सम्बन्धित निकायले थप अवशेष तथा बेपत्ता व्यक्तिको खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्।

बाजुरा — आज मध्यान्ह १२:०९ बजे बझाङको सैपाल आसपास केन्द्रविन्दु बनाएर ४.४ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सैपाल हिमाल क्षेत्र केन्द्रविन्दु रहेको भूकम्पका धक्का बाजुरा सहित आसपासका जिल्लामा समेत गरिएको छ। हालैदेखि पश्चिम नेपालमा भूकम्पका क्रम बढ्दै गएपछि स्थानीय त्रसित बनेका छन्। भूकम्पको धक्का महसुस भएसँगै जिल्ला प्रशासन कार्यालय बाजुराले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। “विपद् कहिल्यै चेतावनी दिएर नआउने भएकाले भूकम्पलगायत अन्य प्राकृतिक विपद्बाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गर्दछौँ,” प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।

कालिकोट – कालिकोटमा सुख्खा पहिरोमा पुरिँदा एक मजदुरको मृत्यु भएको छ। पचालझरना–६ घाटाचौर क्षेत्रमा कर्णाली करिडोरअन्तर्गत सुर्खेत–हुम्ला सडक खण्डमा काम गरिरहेका २७ वर्षीय पृथ्वी बोहोराको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय कालिकोटलेका अनुसार स्थायी ठेगाना पचालझरना गाउँपालिका–७, नुवाघर निवासी बाेहाेरा बिहीबार दिउँसो डेराबाट निर्माण स्थलतर्फ तेल बोकेर जाँदै गर्दा माथिबाट अचानक खसेको सुख्खा पहिरोले बोहोरा पुरिएका थिए। घटनापछि गरिएको खोजतलासमा शुक्रबार उनको शव फेला परेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाइएको छ।

हानोई — केही दिनदेखि निरन्तर परिरहेको मुसलधारे वर्षा र पहिरोका कारण भियतनाममा कम्तीमा ९० जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता छन्। बाढीले १ लाख ८६ हजार घरमा क्षति पुर्याएको छ र ३ लाखभन्दा बढी पशु–वस्तुभाउ बगाएको सरकारी स्रोतले जनाएको छ। नोभेम्बर १६ यता बढ्दै गएको बाढी र पहिरो विशेषगरी पहाडी प्रान्त डाक लाकमा विनाशकारी बनेको छ, जहाँ मात्रै ६० भन्दा बढीले ज्यान गुमाएका छन्। कालमेगी र बुआलोई नामक दुई समुद्री आँधीपछि आएको भारी वर्षाले देशभरको भौतिक संरचना ठूलो रूपमा प्रभावित बनाएको अधिकारीहरूको भनाइ छ। आइतबार बिहान करिब २ लाख ५८ हजार नागरिक बिजुलीविहीन बनेका थिए। राजमार्ग तथा रेलमार्गका विभिन्न खण्ड अवरुद्ध हुँदा उद्धार तथा राहत कार्य चुनौतीपूर्ण बनेको जनाइएको छ। सबैभन्दा प्रभावित पाँच प्रान्तहरू—क्वाङ न्गाई, गिया लाइ, डाक लाक, खान होआ र लाम डोङमा सैन्य तथा प्रहरी बल परिचालन गरिएको छ। जी–२० शिखर सम्मेलनमा सहभागी हुन दक्षिण अफ्रिका पुगेका प्रधानमन्त्री फाम मिन्ह चिनले त्यहीँबाट भर्चुअल आपत्कालीन बैठकको अध्यक्षता गरेका थिए। केही प्रदेशमा वर्षा १.५ मिटर नाघेको तथा कतिपय स्थानमा १९९३ यताकै उच्च वर्षा मापन गरिएको अधिकारीहरूले बताएका छन्। वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण भियतनाम चरम मौसमी जोखिममा झनै परिरहेको छ। आगामी दिनहरूमा वर्षा केही कम हुने पूर्वानुमान गरिएको छ।

मध्य बङ्गलादेशमा आएको ५.५ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा छ जनाले ज्यान गुमाएका छन् भने दर्जनौँ नागरिक घाइते भएका छन्। शुक्रबार राजधानी ढाकामा भवनहरू हल्लिएपछि त्रसित बासिन्दाहरू घरबाट बाहिर निस्केर सडकतर्फ दौडिएको जनाइएको छ। स्थानीय समयानुसार बिहान १०ः३८ बजे ढाकाबाट करिब २५ किलोमिटर टाढा पर्ने नरसिङ्गडी जिल्लाको घोरसाल क्षेत्रमा भूकम्प गएको हो। यूएस जियोलोजिकल सर्वे (यूएसजीएस) का अनुसार यसको केन्द्रमुनि करिब १० किलोमिटर गहिराइमा रहेको थियो। ढाकास्थित डिबिसी टेलिभिजनले कम्तीमा छ जनाको मृत्यु भएको पुष्टि गरेको छ। ढाकामा विभिन्न भवनका छाना तथा पर्खाल खस्दा तीन जनाको मृत्यु भएको र अर्को तीन जना पैदलयात्री भवनको रेलिङ खस्दा मरणासन्न भयकाले ज्यान गएको बताइएको छ। यूएसजीएसका विज्ञहरूले भारत र युरेशिया प्लेटको निरन्तर सक्रियताका कारण बङ्गलादेशको उत्तर तथा दक्षिणपूर्वी भूभाग भूकम्पीय रूपमा संवेदनशील मानिने भए पनि देशको मध्य भाग तुलनात्मक रूपमा कम सक्रिय क्षेत्रमा पर्ने बताए। यसअघि कम जोखिम मानिएको क्षेत्रमै भूकम्प महसुस भएकाले यसपटकको कम्पन अझ अप्रत्याशित रूपमा अनुभव गरिएको जनाइएको छ। बङ्गलादेशी अधिकारीहरूले उद्धार तथा क्षति मूल्याङ्कनका कार्य जारी राखेका छन्। नागरिकलाई सतर्क रहन तथा सम्भावित परकम्पनप्रति सचेत हुन आग्रह गरिएको छ।