
काठमाडौं – संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली नागरिकलाई अवैध वित्तीय कारोबार ‘हुण्डी’ नगर्न तथा नगराउन आग्रह गरेको छ।
दूतावासले मंगलबार अत्यन्त जरुरी सूचना जारी गर्दै विदेशमा रहँदा अनौपचारिक माध्यमबाट विप्रेषण (रेमिटेन्स) पठाउने वा नेपाल नपठाई अन्यत्र प्रयोग गर्ने कार्य गैरकानुनी भएको स्पष्ट पारेको छ। नेपाल सरकारको नीति अनुसार विदेशबाट पठाइने सम्पूर्ण विप्रेषण रकम वैधानिक वित्तीय प्रणालीमार्फत मात्र पठाउनुपर्ने व्यवस्था रहेको दूतावासले जनाएको छ।
दूतावासका अनुसार उक्त विषयमा नियमित रूपमा परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय तथा सम्बन्धित निकायलाई जानकारी गराउँदै आइएको छ। सूचनामा यूएईमा रहेका कुनै पनि नेपाली व्यक्ति वा संस्थाले अनौपचारिक रूपमा हुण्डी कारोबार गरेको वा गराएको पाइएमा कानुनअनुसार कारबाही हुने उल्लेख गरिएको छ।
यसैगरी अवैध वित्तीय कारोबारमा संलग्न व्यक्ति वा संस्थाबारे प्रमाणसहित विवरण दूतावासको इमेलमार्फत उपलब्ध गराई सहयोग गर्न पनि अनुरोध गरिएको छ।
नेपाली राजदूतावासले अवैध वित्तीय कारोबार निरुत्साहित गर्न यूएईमा रहेका सम्पूर्ण नेपाली समुदायको सक्रिय सहकार्य आवश्यक रहेको भन्दै सचेत रहन आग्रह गरेको छ।



